हारको झोंक फेर्दै पौडेल ! पाँच हजार झण्डा र तीन हजार प्रतिवेदन पोखरामा

काठमाडौं । करिब १० वर्षको अन्तरालपछि पोखरामा हुन लागेको नेपाल तरुण दलको चौथो महाधिवेशन बिथोलिने सम्भावना देखिएको छ ।

यही कात्तिक २७–२९ गते हुने भनिएको तरुण दलको महाधिवेशनका लागि निर्देशन समितिले होटल रिजर्भेसनका लागि १५ लाख रुपैयाँ दिइसकेको छ भने पाँच हजार झण्डा र तीन हजार प्रतिवेदन पोखरा पुगिसकेको छ ।

स्थानीय आयोजकले हिजो आइतबारसम्म होटलका लागि ६ लाख रुपैयाँ र क्याटरिङलाई तीन लाख रुपैयाँ एडभान्स दिएको बुझिएको छ ।

बझाङ, तनहुँ, धादिङ, नुवाकोट, काभ्रे, भक्तपुर, बाँकेलगायत नौ जिल्लालाई पौडेल पक्षले काल्पनिक विवादलाई आधार बनाएर अधिवेशन भाँड्न लागिएको तरुण दलका एक केन्द्रीय सदस्यले बताए ।

तनहुँबाट कांग्रेस नेता रामचन्द्र पौडेलसँग गत निर्वाचनमा प्रतिस्पर्धा गरेका पूर्ण गुरुङ प्रतिनिधि बनेकाले विवाद भनिएको हो भने नेता खुमबहादुर खड्कालाई प्रमुख अतिथि बनाएर गरिएको अधिवेशनबाट पौडेल पक्षको एकजना मात्र प्रतिनिधि जितेका कारण विवादमा राखिएको हो ।

आफ्नो पराजय निश्चित देखिएपछि नेपाली कांग्रेस नेता पौडेल निकटस्थ तरुण दलका अगुवाहरूले महाधिवेशन बिथोल्न विभिन्न निहुँ खोज्न थालेका छन् । तर कुन निहुँमा महाधिवेशन बिथोल्ने भन्ने रणनीति तयार गर्न नेता पौडेलकहाँ दिनहुँजसो बैठक बस्ने गरेको छ । यस्तो बैठकको संयोजन पूर्वमहासचिव पुष्प पराजुलीले गरेको समाचार स्रोतले जनाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा विदेश भ्रमणमा गएको मौका पारेर महाधिवेशन स्थगित गराउने रणनीतिमा पौडेल पक्ष जुटेको संकेत पाएपछि तरुण दलका पूर्वअध्यक्ष एवं रक्षामन्त्री बालकृष्ण खाँण शुक्रबार बिहानै पौडेल निवास बोहोराटार पुगेका थिए । मन्त्री खाँण पुगेलगत्तै पूर्वमहासचिव पराजुलीको नेतृत्वमा यम गुरुङ, रमेश खरेल, लक्ष्मी खतिवडा, प्रताप गुर्धामीलगायतको टोली पनि पुगेको थियो ।

वर्तमान तदर्थ समितिमा रहेकालाई उम्मेदवार हुन दिए मात्रै महाधिवेशन सम्भव रहेको कुरा उक्त टोलीले राखेपछि यसमा पूर्वअध्यक्ष खाँणले पनि सहमति जनाएको प्रचार पौडेल पक्षले नै गरेको छ । उनले नेता पौडेल तथा टोलीसमक्ष सभापति देउवालाई  भेट्ने र वर्तमान कार्यसमितिमा रहेकालाई उम्मेदवार बन्न पाउने गरी गाँठो फुकाउने आश्वासन दिएको समाचार पौडेल पक्षले नै फैलाएको थियो । नेपाल महिला संघमा कार्यसमितका कसैलाई पनि चुनाव लड्न दिन नहुने अडानमा रहेका नेता पौडेल कुन स्वार्थका लागि आफ्नो पुरानो अडानबाट पछि हटेका हुन् रु खुल्न सकेको छैन ।

शुक्रबार बिहान कुरा मिल्न मिल्न आँटेको थियो । तर बेलुका नेता पौडेलले खाँणलाई टेलिफोन गर्दै भने– ‘तपाईले चाहेर मात्रै नहुने रहेछ, कुरा अर्कै रहेछ, स्थगित नगरी अरु उपाय छैन ।’ यस्तै यस्तै निहुँमा महाधिवेशन स्थगित गराउने पक्षमा भने खाँण छैनन् ।

खाँणको साथ सहयोग पाउने आशा समाप्त भएपछि पौडेल पक्षका  अगुवाहरूको भेला शनिबार बिहान महामन्त्री डा।शशांक कोइरालाको निवासमा भएको थियो । यथास्थितिमा महाधिवेशन भएमा पराजय निश्चित रहेको निष्कर्ष निकाल्दै उक्त भेलाले केही जिल्लाको विवादलाई निहुँ बनाएर महाधिवेशन स्थगित गराउने रणनीति तयार गरेको छ ।

उक्त रणनीतिपछि शनिबार दिउँसो पत्रकार सम्मेलनको आयोजना गर्दै पौडेल पक्षले पाँच जिल्लाको विवाद नसुल्झिएसम्म महाधिवेशनमा भाग नलिने घोषणा गरेको छ । विवाद नै नभएका जिल्लालाई विवादास्पद भनिएका कारण पौडेल पक्षको माग पूरा गराउने अवस्थामा संस्थापन पक्ष छैन ।

पौडेल पक्षले भाग नलिए पनि महाधिवेशनको वैधानिकतामा प्रश्न उठ्ने अवस्था छैन । दुई तिहाइभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले भाग लिने अवस्था छ । तर कठिन अवस्थामा समेत अनेक कम्प्रोमाइज गरेर नेविसंघ र महिला संघको महाधिवेशन गराएको संस्थापन पक्षले विवादका बीच तरुण दलको महाधिवेशन नगराउने निश्चित जस्तै छ ।  विवादास्पद भनिएका पाँर्चवटा जिल्लामा पौडेल पक्षले जे जे भन्छ, त्यही त्यही पु¥याएरै भए पनि महाधिवेशन गराउने योजना पार्टीको छ ।

तरुण दलमा पौडेल पक्ष धेरै नै कमजोर भएका कारण पाँचवटा जिल्लामा कम्प्रोमाइज गर्दा संस्थापन पक्षलाई खासै फरक पर्ने अवस्था छैन । करिब १३ सय महाधिवेशन प्रतिनिधिमध्ये पौडेल पक्षमा चार सयको हाराहारी रहेको बताइन्छ । बाँकी सबै संस्थापन पक्षका छन् ।

तर संस्थापन पक्षमा पहिलेको जस्तो एकजुट भएको अवस्था भने छैन । जसरी नेविसंघ र महिला संघको महाधिवेशनमा संस्थापन पक्ष एकजुट थियो, तरुण दलमा त्यो अवस्था छैन । संस्थापन पक्षमा प्रतिनिधिहरू विभक्त देखिएका कारण पनि पौडेल पक्षले आफ्नो सम्भावना देखेको हो । २०५४ सालमा पुनस्र्थापना भएयता नेपाल तरुण दलमा नेता खाँणको प्रभाव रहँदै आएको खबर तरुणमा छ ।

अघिल्लो महाधिवेशन भएयताको नौ वर्षको अवधिमा तरुण दलको महाधिवेशनको मिति ६ पटक तय भएर स्थगित भइसकेको छ । फेरि पनि स्थगित भयो भने सातौं पटक हुनेछ ।

अन्य समाचार

Recorded Program

Follow us on facebook