दसैंअघि नै केन्द्रीय समितिले पूर्णता पाउने

काठमाडौं । मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टी संगठनलाई पूर्णता दिने अभियानमा जुट्नुभएको छ ।

मनोनीत गर्नुपर्ने २१ जना केन्द्रीय सदस्यमध्ये सभापति देउवाले यसअघि १२ जनाको मनोनयन गरिसक्नुभएको छ । अब नौजनाको मनोनयन दसैंअघि नै गर्ने तयारी रहेको समाचार स्रोतले जनाएको छ ।

स्रोतका अनुसार पार्टीको गत महाधिवेशन र संसदीय दलको निर्वाचनमा प्रभावकारी भूमिका निर्वाह गर्दागर्दै पनि मन्त्री बन्ने अवसर नपाएका नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने सम्भावना देखिएको छ ।

मन्त्रिपरिषद्मा जस्तै ३३ प्रतिशत रामचन्द्र पौडेल पक्षलाई दिने वा नदिने भन्ने निक्र्योल भइसकेको छैन । कृष्णप्रसाद सिटौला पक्षले तीनजना मनोनीत केन्द्रीय सदस्य पाइसकेको छ ।

पुष्पा भुसाललाई सहमहामन्त्री या संसदीय समितिको सदस्य बनाउनुपर्ने नेता खुमबहादुर खड्काको माग छ । तर सभापति देउवा भागबन्डाको राजनीतिको पक्षमा अब हुनुहुन्न । त्यसैले विमलेन्द्र निधि र गोपालमान श्रेष्ठमध्ये एकजनालाई उपसभापति बनाइने निश्चित जस्तै रहेको समाचार स्रोतले जनाएको छ ।

निधिले उपप्रधानमन्त्री बन्ने अवसर पाएका कारण पार्टीको उपसभापतिको अवसर आफूलाई आउने कुरामा श्रेष्ठ ढुक्क देखिनुभएको छ । तर अर्को पार्टीको प्रधानमन्त्री रहेको अवस्थामा उपसभापतिले नै पार्टीको तर्फबाट सरकारको नेतृत्व गर्ने संसदीय प्रचलन रहेको कारण आफूले नै उपसभापति पद पाउने कुरामा निधि पनि ढुक्क देखिनुभएको छ ।

महामन्त्री पदमा भने खासै ठूलो समस्या देखिएको छैन । महामन्त्री पदका लागि ज्ञानेन्द्रबहादुर कार्की, डा.प्रकाशशरण महत र बालकृष्ण खाँण आकांक्षी देखिनुभएको छ । तर यी तीनजनामध्ये कार्कीले अहिलेसम्म खासै अवसर पाउनुभएको छैन । कार्कीलाई महामन्त्री बनाउँदा डा.महत र खाँणको पनि खासै आपत्ति नहुने अवस्था देखिएको छ । महामन्त्री पदका लागि कार्कीको लगभग निश्चित जस्तै भएको पार्टी सभापति निकट स्रोतले जनाएको छ ।
नेपाली कांग्रेसको अहिलेको मूलधारको राजनीतिमा पार्टी सभापति देउवापछि रामचन्द्र पौडेल, खुमबहादुर खड्का र गोपालमान श्रेष्ठलाई छाडेर मूल्यांकन गर्दा विमलेन्द्र निधिपछि कार्की सिनियर मानिनुहुन्छ । तर सहमहामन्त्री को हुने ? भन्ने निक्र्योल नभएसम्म कार्की महामन्त्री बन्ने निश्चित नभएको दाबी पनि समाचार स्रोतको छ । महामन्त्री पद भनेको कर्मचारी जस्तै खटिनुपर्ने पद पनि हो ।

निर्वाचित महामन्त्री शशांक कोइराला सक्रिय नभएका कारण पनि महामन्त्री या सहमहामन्त्री मनोनीत गर्दा अन्य कुरामा पनि ध्यान दिनुपर्ने सुझाव सभापति देउवालाई धेरैले दिएका छन् । विगतमा प्रकाशमान सिंह महामन्त्री निर्वाचित भए पनि पार्टीका अन्य काम गर्न सक्षम नभएकाले कृष्णप्रसाद सिटौलालाई महामन्त्री बनाएर सभापति सुशील कोइरालाले अन्य काम अघि बढाएका थिए । यतिबेला शशांक कोइरालाको क्षमता पनि प्रकाशमानको जस्तै हो ।

त्यसैले फरक क्षमता भएकालाई महामन्त्री या सहमहामन्त्री बनाउनुपर्ने सुझाव आएको हो ।  सहमहामन्त्रीमा डा.महत तयार हुनुभयो भने कार्की महामन्त्री बन्ने निश्चित जस्तै छ । यता, विगतको नजिर कोट्याउँदै रामचन्द्र पौडेल पक्षले सहमहामन्त्री दाबी गरेको छ । यसका लागि बलबहादुर केसीलाई सो समूहले अघि सारेको छ । तर यसपटक पौडेल पक्षले दुईजना पदाधिकारी जितेका कारण सहमहामन्त्री पाउने सम्भावना छैन ।

सभापति देउवा भ्रातृसंगठनको महाधिवेशन गर्न र पार्टी केन्द्रीय कार्यालय व्यवस्थित बनाउन जुटेका कारण पार्टी संगठनले पूर्णता पाउन केही ढिलाइ भएको हो ।  धेरै विवादमा रहेका भ्रातृसंस्थामध्ये नेविसंघको महाधिवेशन सम्पन्न भइसकेको छ । तरुण दल र महिला संघको महाधिवेशन पनि सम्पन्न हुने चरणमा छ । पार्टी केन्द्रीय कार्यालय पनि निकै व्यवस्थित बनिसकेको छ ।

नेपाली कांग्रेस संसद्को सबैभन्दा ठूलो पार्टी हुँदाहुँदै पनि निकै ठूलो षड्यन्त्र गरेर राज्यका सबै पदबाट नेपाली कांग्रेसलाई वञ्चित गरिएको थियो । जसका कारण संविधान कार्यान्वयन र शान्ति प्रक्रिया ओझेलमा परेको थियो । तर सभापति देउवाले कुशलतापूर्वक नेपाली कांग्रेसलाई पहिलेकै अवस्थामा ल्याउनुभएको छ । सम्मानजनक स्थानसहित नेपाली कांग्रेस सरकारमा सामेल भएको छ ।

अब केही महिनाभित्रै नेपाली कांग्रेसले सरकारको नेतृत्व पाउने सुनिश्चित भएको छ । साथै, शन्ति प्रक्रियाको अधुरो काम फेरि सुचारु भएको छ । नेपाली कांग्रेसलाई निषेध गरेर शान्ति प्रक्रिया अवरुद्ध गर्ने ठूलो षड्यन्त्रलाई चिरेर नेपाली कांग्रेसलाई पहिलेको जस्तै भूमिकामा पु¥याउन सक्नु सभापति देउवाको मुख्य सफलता हो । @ तरुण साप्ताहिक

अन्य समाचार

Recorded Program

Follow us on facebook