सेनामा नयाँ चलखेल

काठमाडौं । नेपाली सेनामा भावी प्रधानसेनापतिको चलखेल सुरु भएको छ । उपरथी प्रेमप्रकाश थापाले सफाई पाएसँगै भावी नेतृत्वका लागि सेनामा नयाँ समीकरण बनेको हो । थापा पुनर्बहाली भएको खण्डमा उनको प्रधानसेनापति बन्ने सम्भावना छ । तर, सफाइ पाए पनि उनी पुनर्बहाली भएका छैनन् । जंगीअड्डाले असहयोग गरेपछि उनी पुनर्बहालीका लागि राजनीतिक लबिङमा लागेका छन् । थापाको पनुर्बहाली नभए सहायक रथी प्रभुराम शर्मा सेनापति हुनेछन् । त्यसकारण यतिबेला थापा र शर्माबीच भावी प्रधानसेनापतीका लागि संघर्ष सुरु भएको छ । थापालाई कीर्ते काण्डमा २०७० कात्तिक २७ गते सेनाले सेवाबाट हटाएको थियो । गत जेठमा उनले सफाइ पाएका थिए । तर सफाइ पाएको तीन महिनासम्म पनि उनको पुनर्बहाली प्रक्रिया सुरु भएको छैन । उनको अवधि अझै करिब ८ महिना बाँकी छ । दुई बर्ष पदावधि थप्न सक्ने प्रावधान भएकाले उनी प्रधानसेनापति बन्ने सम्भवना हुन्छ । हालका प्रधानसेनापति राजेन्द्र क्षेत्रीपछि पूर्णचन्द्र थापा सेनापति हुने लगभग तय भइससकेको छ । २ बर्ष म्याद थपिएको अवस्थामा त्यसपछि थापा सेनापतिका दाबेदार हुनेछन् । उनी प्रधानसेनापति भएमा प्रभुराम शर्माको बाटो बन्द हुनेछ । छत्रमानसिंह गुरुङको कार्यकालमा थापा सैनिक सचिव थिए । सहायक रथी हेम खत्रीको शैक्षिक प्रमाणपत्र नक्कली हुँदा समेत उनलाई वार कोर्स गर्न पठाइएको थियो । थापाले नै खत्रीलाई सिफारिस गरेका थिए । छानबिनमा खत्रीको प्रमाणपत्र नक्कली भएको खुलेपछि दुवैजनालाई बर्खास्त गरिएको थियो । गत जेठमा बिशेष सैनिक अदालतले उनलाई निर्दोष ठहर गरेको थियो । हालका प्रधानसेनापति राजेन्द्र क्षेत्रीकै बोर्डले उनलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । त्यसकारण प्रधानसेनापति क्षेत्री थापासँग नकारात्मक छन् । पुनर्बहालीका लागि थापाले माओवादी केन्द्रका जनजाति नेताहरुमार्फत् प्रधानमन्त्री प्रचण्डसँग लबिङ गर्दै आएको स्रोत बताउँछ

अन्य समाचार

Recorded Program

Follow us on facebook